घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन इजाजत प्राप्त संस्थालाई तालिम
भूमिव्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारलाई थप व्यवस्थित, पारदर्शी र कानुनी दायरामा ल्याउन इजाजतपत्र प्राप्त संस्था तथा एजेन्सीलाई लक्षित गरी तालिम कार्यक्रम सञ्चालन गरेको छ। वित्तीय जानकारी इकाई र घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघको सहकार्यमा आयोजित यस तालिमले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधान, शंकास्पद कारोबार पहिचान र प्रतिवेदन प्रक्रियामा दक्षता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ। महानिर्देशक शिव प्रसाद रेग्मीका अनुसार हाल महानगर र उपमहानगर क्षेत्रमा तीन करोड रुपैयाँभन्दा माथिका कारोबारलाई नियमनको दायरामा ल्याइएको छ र भविष्यमा यसलाई विस्तार गरिनेछ।