चुनौती घट्दै, सुधारका संकेत बढ्दै : नरेन्द्रसिंह विष्ट, सचिव, नेपाल लघुवित्त बैंकर संघ (स्वावलम्बन, कमलपोखरी)

यस स्टोरीको अंश: लघुवित्त क्षेत्रमा सुधारका संकेत, ऋण मिनाहाको भ्रम हट्दै
ehimalayatimes.com · 2 दिन अघि

लघुवित्त क्षेत्र विगत केही समयदेखि विभिन्न सामाजिक र आर्थिक आन्दोलन तथा बहसका कारण प्रभावित बनेको देखिएको छ । तर, पछिल्ला महिनाहरूमा यस क्षेत्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन् भन्ने विभिन्न प्रतिवेदन तथा सरोकारवालाको मूल्यांकनले देखाएको छ । विगतमा ऋण तिर्न नपर्ने, ऋण मिनाहा हुनेजस्ता धारणा फैलिँदा लघुवित्त संस्थाहरूको ऋण असुली प्रक्रिया प्रभावित बनेको थियो । केही समूह तथा अभियानहरूले ऋणीहरूलाई कर्जा नतिर्न प्रोत्साहित गरेको आरोपसमेत लगाइँदै आएको थियो । यस क्रममा विभिन्न संघर्ष समिति तथा अभियानहरू सक्रिय रहेका थिए, जसले वित्तीय प्रणालीमा केही अस्थिरता सिर्जना गरेको थियो । तर, पछिल्लो समय ती गतिविधि क्रमशः कमजोर हुँदै गएका र सामाजिक तथा राजनीतिक वातावरण बदलिँदै गएको देखिन्छ । यससँगै ऋणीहरूको व्यवहारमा पनि परिवर्तन आएको बताइन्छ । पहिले ‘ऋण नतिर्ने’ वा ‘ऋण मिनाहा हुने’ आशामा रहेका केही ऋणीहरू अहिले व्यावहारिक दृष्टिकोण अपनाउँदै किस्ता तिर्न तयार भएको देखिएको छ । अदालतबाट जारी भएको आदेशपछि कर्जा नतिर्न उक्साउने गतिविधिलाई नियन्त्रण गर्न कानुनी प्रक्रिया अघि बढाइएको छ । सोही आधारमा सम्बन्धित निकायहरूले कारबाही प्रक्रिया अघि बढाएसँगै ऋण असुली तथा वित्तीय अनुशासनमा सुधार देखिन थालेको छ । पहिले विभिन्न भ्रम र दबाबका कारण ऋणीहरूमा अन्योल थियो । तर अहिले धेरैजसो ऋणीहरू विस्तारै किस्ता तिर्छौं, केही समय दिनुहोस् भन्ने अवस्थामा पुगेका छन् । यो सकारात्मक संकेत हो । लघुवित्त प्रणाली ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार भएकाले यसको स्थायित्वका लागि ऋण अनुशासन अत्यावश्यक हुन्छ । ऋण तिर्ने संस्कृतिमा आएको सुधारले समग्र वित्तीय प्रणालीमा विश्वास बढाउने अपेक्षा गरिएको छ । यद्यपि केही क्षेत्रमा असहज अवस्था पूर्णरूपमा अन्त्य भइसकेको छैन । कतिपय ऋणीहरू आर्थिक दबाबका कारण समयमै किस्ता तिर्न नसक्ने अवस्थामै रहेको बताइन्छ । त्यसैले लघुवित्त संस्थाहरूले ऋणीको अवस्था अनुसार लचिलो पुनर्संरचना तथा सहजीकरण नीति अपनाउनुपर्ने हुन्छ । समग्रमा हेर्दा, पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको परिवर्तनले संकटपूर्ण अवस्थाबाट क्रमशः सुधारतर्फ अघि बढिरहेको संकेत गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू