अब माथिबाट निर्णय भएर ऋण मिनाह हुन्छ भन्ने रहेन : शिवप्रसाद ज्ञवाली, सदस्य, नेपाल लघुवित्त बैंकर संघ (आरम्भ चौतारी, बनेपा)

यस स्टोरीको अंश: लघुवित्त क्षेत्रमा सुधारका संकेत, ऋण मिनाहाको भ्रम हट्दै
ehimalayatimes.com · 2 दिन अघि

पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको अन्यौल र अविश्वास क्रमशः घट्दै गएको छ । विगतमा केही व्यक्तिका गलत गतिविधि र उक्साहटपूर्ण अभियानका कारण लघुवित्त क्षेत्र समस्यामा परेको भए पनि अहिले अवस्था विस्तारै सुधारतर्फ उन्मुख भएको छ । केही समयअघि ऋणीहरूमा ‘माथिबाट निर्णय भएर ऋण मिनाह हुन्छ’ भन्ने भ्रम फैलाइएको थियो । यही भ्रमका कारण कतिपय सेवाग्राही किस्ता तिर्नबाट पछि हटेका थिए भने केही समूहले आन्दोलनका नाममा गलत सन्देश फैलाएका थिए । तर, अहिले नागरिकले वास्तविकता बुझ्न थालेका छन् । उक्साहटमा लागेर ऋण नतिर्ने प्रवृत्ति दीर्घकालीन समाधान होइन भन्ने कुरा मानिसहरूले बुझ्न थालेका छन् । सरकारले पनि कानुनविपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने संकेत दिएको छ । त्यसले सकारात्मक सन्देश गएको छ । लघुवित्त संघर्ष समितिका केही गतिविधिबारे अदालतबाट समेत गलत भएको ठहर हुने आदेश आएको छ । जसले ऋण लिएको रकम तिर्नैपर्ने दायित्वबाट कोही उम्किन नसक्ने स्पष्ट भएको छ । अब माथिबाट निर्णय भएर सबै ऋण मिनाह हुन्छ भन्ने अवस्था छैन । राजनीतिक रूपमा विषयलाई प्रयोग गर्न खोज्नेहरू दबाबमा परेका छन् । पछिल्लो समय सेवाग्राहीहरू पुनः नियमित किस्ता भुक्तानीतर्फ फर्किन थालेका छन् । बजारमा विस्तारै सकारात्मक वातावरण बन्न थालेको छ । नयाँ सरकार गठनपछि वित्तीय क्षेत्रमा थप स्थिरता आउने र लघुवित्त क्षेत्र अझ व्यवस्थित बन्दै जाने अपेक्षा छ । अहिले सुधारको संकेत देखिन थालेको छ । आगामी दिनमा सरकार, नियामक निकाय र वित्तीय संस्थाहरूले समन्वय गरेर अघि बढे स्थिति अझ राम्रो हुन्छ भन्ने विश्वास छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू