भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामीको चाप

यस स्टोरीको अंश: भरतपुर अस्पतालमा दुई दिनको बिदापछि बिरामीको अत्यधिक चाप, तीन हजारभन्दा बढीले सेवा लिए
lokaantar.com · 1 हप्ता अघि

दुई दिनको सार्वजनिक बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको अत्यधिक चाप देखिएको छ । बहिरङ्ग सेवा (ओपिडी) मा टिकट काट्ने सेवाग्राहीको लामो लाइन लागेको थियो । आज मात्रै बिमा तथा गैरबिमा सेवामार्फत तीन हजार २४४ भन्दा बढी बिरामीले सेवा लिएको अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश पन्तले जानकारी दिए । सामान्यतया दैनिक करिब दुई हजार ५०० बिरामी आउने गरे पनि पछिल्लो समय चाप बढेको उनले बताए । सेवाग्राहीको भीड बढेपछि अन्य अस्पतालमा प्रेषण (रिफर) गर्नसमेत समस्या भएको बिरामीहरूले गुनासो गरेका छन् । रत्ननगर–१२ का रामविलास लामिछानेले आँखाको उपचारका लागि रिफर लिन अस्पताल पुगे पनि भीडका कारण समयमा काम नभएको बताए । उनले बिहान ८ बजे अस्पताल पुग्दा आफ्नो पालो एक हजार २०० नम्बरमा परेको जानकारी दिए । “बिमाको रिफरका लागि धेरै समय कुर्न नपर्ने व्यवस्था हुनुपर्छ,” उनले भने । भरतपुर–२० चनौलीका नवराज भुसालले पनि आँखाको उपचारका लागि रिफर लिन लामो समय कुर्नुपरेको गुनासो गरे । भरतपुर–५ का रामकृष्ण अधिकारीले नियमित उपचारका लागि आउने बिरामी भएकाले दुई दिन ओपिडी बन्द हुँदा सोमबार अस्पतालमा भीड बढेको बताए । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले दुई दिन बिदा परेकाले सोमबार बिरामीको चाप बढेको बताए । “ओपिडी सेवा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुन्छ । टिकट बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म पाइन्छ,” उनले भने, “तर अधिकांश सेवाग्राही बिहानै ५–६ बजेदेखि लाइनमा बस्ने भएकाले बिहानको समयमा बढी भीड देखिएको हो ।” उनले अस्पताल ५ बजेसम्म खुला रहने भएकाले भीडभाड नगरी सहज रूपमा सेवा लिन आग्रह गरे । डा. सापकोटाका अनुसार अस्पतालले रिफर भएर बाहिर पठाइने बिरामीका लागि छुट्टै कक्षमार्फत सेवा दिने तयारी गरिरहेको छ । एक–दुई दिनभित्र रिफर सेवालाई थप व्यवस्थित बनाइने उनले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू