जुम्लामा अर्गानिक मल उद्योगको सम्भाव्यता अध्ययन हुँदै
▸ यस स्टोरीको अंश: बाली बीमामा ८२% गिरावट, अनुदान कडाइ र प्राविधिक जटिलता कारक
कर्णाली प्रदेशमै पहिलोपटक जुम्लामा अर्गानिक मल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । जुम्लाको रैथाने बाली तथा फलफूलको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले अर्गानिक मल उत्पादनको सम्भाव्यता अध्ययन थालिएको हो । १४औं जिल्ला परिषद्बाट २०६४ सालमा नेपालकै पहिलो प्रांगारिक जिल्ला घोषणा गरिएको जुम्लामा पछिल्लो समय झारनाशक विषादी ब्युटाक्लोरलगायत रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लुकिछिपी हुने रासायनिक मल प्रयोगलाई निरुत्साहित गर्न चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र पातारासी गाउँपालिकाको संयुक्त लगानीमा अर्गानिक मल उद्योग स्थापना गर्ने तयारी गरिएको हो । शुक्रबार उद्योग स्थापनासम्बन्धी सम्भाव्यता अध्ययनका लागि किसान, सामुदायिक वनका पदाधिकारी तथा तीनै पालिकाका प्रमुखहरूसँग परामर्श तथा छलफल गरिएको थियो । छलफलमा सहभागी पालिका प्रमुखले जुम्लामा अर्गानिक मल उद्योग आवश्यक र सम्भावनायुक्त भएकाले उद्योग स्थापनाका लागि लगानी गर्न तयार रहेको प्रतिबद्धता जनाए । नर्वे सरकार तथा यूएनडीपीको आर्थिक सहयोगमा सञ्चालित रेरास परियोजनाले जुम्लामा अर्गानिक मल उद्योग स्थापनाका सम्भावना, अवसर र चुनौतीबारे छलफल आयोजना गरेको हो । कृषि विकास कार्यालयका अनुसार जुम्लामा वार्षिक करिब ४ सय मेट्रिक टन अर्गानिक मल आवश्यक पर्ने भए पनि अनुदानमार्फत वार्षिक २० मेट्रिक टनसम्म मात्रै उपलब्ध हुँदै आएको छ । एग्रोभेटमार्फत करिब १२ मेट्रिक टन मल बिक्री हुँदै आएको छ । समग्रमा वार्षिक ६० देखि ७० मेट्रिक टनसम्म मात्रै अर्गानिक मल आपूर्ति भइरहेकाले जिल्लाको आवश्यकता पूरा गर्न उद्योग स्थापना अपरिहार्य रहेको किसानले बताएका छन् । परामर्शदाता डा. प्रेम थापाले उद्योग स्थापनाका लागि वातावरणीय तथा सामाजिक पक्षले पनि साथ दिनुपर्ने बताए । उनले पर्याप्त कच्चा पदार्थ, संकलन केन्द्र तथा प्रशोधन स्थल सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनका अनुसार उद्योग स्थापना गर्न प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय चारवटै पक्ष बलियो हुन आवश्यक छ । उद्योग स्थापनाका लागि कम्तीमा ३ करोड रुपैयाँसम्म लगानी आवश्यक पर्ने भएकाले तीनै पालिकाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए । कच्चा पदार्थको सुनिश्चितता, संकलन तथा कुहाउने स्थानको व्यवस्थापनपछि उद्योग स्थापना गर्न सहज हुने उनको सुझाव थियो । चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले उद्योग आवश्यक रहेकाले स्थापना गर्न आवश्यक जति पनि लगानी गर्न तयार रहेको बताइन् । यसले किसानलाई राहत मिल्नुका साथै स्थानीय स्रोत–साधनको सदुपयोग हुने उनको भनाइ थियो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले तातोपानीमा एक करोडभन्दा बढी लगानीमा औद्योगिक ग्राम स्थापना भइसकेकाले अर्गानिक मल उद्योग पनि त्यहीँ स्थापना गर्नुपर्ने बताए । उनका अनुसार त्यहाँ १० हेक्टर जमिन उपलब्ध छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले पनि उद्योग पातारासीमै स्थापना हुनुपर्ने धारणा राखे । कच्चा पदार्थको उपलब्धता पातारासीमा बढी भएकाले उद्योग सञ्चालनका लागि उपयुक्त हुने उनको भनाइ थियो । उद्योगका लागि वनको पिरल, झारपात, पशुचौपायाको गोबर, दिसालगायत वस्तुलाई कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । कृषि विकास कार्यालय प्रमुख रामभक्त अधिकारीले प्रांगारिक जिल्लाको पहिचान कायम राख्न अर्गानिक मल उद्योग स्थापना कोसेढुंगा साबित हुने बताए । जिल्लामा वार्षिक ४ सय मेट्रिक टन मल आवश्यक पर्ने भए पनि उपलब्धता न्यून रहेकाले उद्योग आवश्यक रहेकोमा उनले जोड दिए । उद्योग वाणिज्य संघका उपाध्यक्ष बालकृष्ण बुढाले उद्योग स्थापनाले उत्पादन वृद्धि हुनुका साथै फोहोर व्यवस्थापनमा पनि सहजता ल्याउने बताए । यसले रोजगारी सिर्जना र जिल्लाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । स्थानीय तहका प्रतिनिधिहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट घोषणा हुनुअघि उद्योग सञ्चालनको मोडालिटी अन्तिम रूप दिन सके उद्योग स्थापना प्रक्रियाका लागि बजेट विनियोजन गर्न सहज हुने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›